श्याम बुचा
सुस्ता २१ असोज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले आफ्नो पालिका भित्र रहेका बजारमा संचालित पसलहरुको अनुगमन गर्ने काममा तिब्रता ल्याएको छ ।
प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले बजारमा रहेका मिठाई पसल,खाजा तथा नास्ता पसल र किराना पसलहरुमा अनुगमनमा तिब्रता बढाएको हो ।
नजिकै आउदै गरेको चाडपर्वलाई मौका छोपी व्यावसायिकर्मीहरुले अखाद्य,गुणस्तरहिन र म्याद गुज्रिएको सामग्रीहरु बिक्रीवितरण गरि कालोबजारी समेत गर्ने र उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड समेत गर्न सक्ने हुदा उक्त कामको निगरानीका लागि मध्यनजर गर्दै अनुगमन टोलिले आफ्नो सक्रियता बढाएको हो ।
बजार अनुगमन टोलिले आज सोमबारको दिन प्रतापपुर गाउँपालिका वडा न १ र २ स्थित गोपिगन्ज बजारमा रहेको मिठाई पसल,किराना पसल,मासु पसल तथा खाजा नास्ता पसल गरि २६ वटा पसलमा अनुगमन गरिएको बजार अनुगमन समितिका निरीक्षक एवं प्रतापपुर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले बताएका छन् ।
समितिले अनुगमन क्रममा व्यासायीकर्मीहरुलाई सरसफाइमा ध्यान दिनुपर्ने र अखाद्य बस्तु बिक्रीवितरण नगर्न सल्लाह सुझाव दिएका थिए र पसलमा रहेका सामानहरुको म्याद गुज्रिएको छ छैन,दर सुची राखेको छ छैन,पसल दर्ता तथा नवीकरण रहेको नरहेको र उपभोक्ताले खान योग्य रहेको नरहेको यकिन समेत गरेका थिए ।
प्रतापपुर गाउँपालिका बजार अनुगमन समितिका संयोजक मान कुमारी चौधरीले बजार अनुगमनको आज सोमबार दोस्रो दिन रहेको र अनुगमनको क्रममा केहि मिठाइका पसलहरुमा सरसफाइमा कमि देखिएको र केही किराना पसलहरुमा गुट्का चुरोट रक्सी र म्याद गुज्रिएको सामानहरु बिक्रीवितरण समेत गरिएको पाइएको बताउदै उनको अनुसार पालिकाले बजार अनुगमनको काम चाडपर्वलाई मात्र मध्यनजर गरेर होइन यो निरन्तर हुने र अनुगमनमा पहिलो पटक सबै पसलका साहुलाई सम्झाई बुझाएको र अब पुनः यस्तो गल्ती व्यावसायिकर्मीहरुले दोहोर्याएका खण्डमा पालिकाले सामग्री जफत र जरिवाना समेत गर्ने उनले बताइन् ।