श्याम बुचा
सुस्ता १० कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वडा न २ सत्तपतिमा रहेको अनमोल कृषि सहकारी संस्था लिमिटेडले यस आर्थिक बर्षमा करिब ३ करोडको कारोबार गरेको छ ।
अनमोल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण पन्थको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा सहकारी संस्थाको आज शनिबारको दिन भएको ८ औं बार्षिक साधारणसभा कार्यक्रममा संस्थाका कोषाध्यक्ष यशोदा पाठकले प्रस्तुत गरेको आर्थिक बर्ष ०८०/०८१ को आर्थिक प्रतिबेदनमा सहकारी संस्थाले यस आर्थिक बर्ष ०८०/०८१ मा २ करोड ५२ लाख ७५ हजार १ सय ४२ रुपैया ७० पैसा बराबरको कारोबार गरेको बताइन् ।
त्यस्तै संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कृष्ण पन्थले गत बर्ष ४ लाख ६५ हजार ६ सय ९७ रुपैया ४८ पैसा घाटामा रहेको सहकारी संस्था यस बर्ष भने ३१ लाख ७४ हजार ६ सय ६८ रुपैया १२ पैसा नाफा भएको र गत बर्षको घाटापुर्ती र ह्रास कट्टी गरि यस आर्थिक बर्ष ०८०/०८१ मा संस्थाले २३ लाख २ हजार ९ सय रुपैया शुद्ध नाफा गरेको बताउदै संस्थाले १ वटा तोरी मिल र किसानहरुलाई मध्यनजर गर्दै मलखाद खरिद बिक्रीवितरण गरिरहेको बताएका छन् ।
संस्थाका ८ औं बार्षिक साधारणसभालाई उद्द्घाटन गरि सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले अनमोल कृषि सहकारी संस्थाका शेयर सदस्य तथा संचालक समितिहरु एक किसिमको संस्था प्रती लगन र इमान्दारिताले काम गरेको हुदा आज संस्था शुद्ध नाफा तर्फ रहेको र किसान दाजुभाइ तथा दिदिबहिनीहरुलाई मध्यनजर गरेर बिशेश गरेर कृषि तर्फ सहकारीले जोड दिएको हुदा अनमोल कृषि सहकारी संस्था लिमिटेड एक दिन सुस्ता गाउँपालिकाको नै नमुना सहकारी हुने बताएका छन भने अहिले देशभरीका सहकारी संस्थाहरुको हालत एकदम नाजुक रहेको र अब सरकारले नै सहकारी प्रती गम्भीर भएर सहकारीलाई संरक्षण तथा प्रबर्द्धन गर्दै जानू पर्ने उनको जोड रहेकोे थियो ।
बि स २०७३ साल जेठ २५ गते स्थापना भएको अनमोल कृषि सहकारी संस्थामा कुल ३ सय ३२ जना शेयर सदस्य रहेको छ र हाल संस्थाले नियमित बचत खाता र शेयर खाता गरि २ वटा खाता संचालन गरिरहेको संस्थाका सचिव जयराम राजभरले बताए ।
सो बार्षिक साधारणसभा कार्यक्रममा सुस्ता २ महलबारीमा रहेको महर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्लीराम काफ्ले,सुस्ता गाउँपालिका वडा न २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,अनमोल कृषि सहकारी संस्था लिमिटेडका सल्लाहकार नारायणी ढकाल,मेघनाथ उपाध्याय,सहमती संस्थाका प्रतिनिधि तारानाथ शर्मा र सुस्ता २ का वडा सदस्य अग्निधर न्यौपाने लगायतका वक्ताहरुले सहकारीको बिकास सम्बन्धि जोड दिएका थिए ।
संस्थाका उपाध्यक्ष खेमलाल अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने बार्षिक साधारणसभाको कार्यक्रम संचालन संस्थाका सचिव जयराम राजभरले गरेका थिए ।