श्याम बुचा
सुस्ता २९ पुस
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालयले ३ वटा कार्यविधि सहित १६औं गाउँ सभा सम्पन्न गरेको छ ।
आज सोमबार भएको पालिकाको १६औं गाउँ सभाले शिक्षक अवकाश प्रोत्साहन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१,सुस्ता गाउँपालिकामा उपेक्षित उष्णप्रदेशिय रोग प्रभावित नागरिकका लागि स्वयं हेरचाह समुह गठन व्यवस्थापन तथा परिचालन सम्बन्धि कार्यविधि २०८१ र सुस्ता गाउँपालिकाको बाल अधिकार संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धन सम्बन्धि एकीकृत कार्यविधि २०८१ गरि ३ वटा कार्यविधि पारित गरेको हो ।
सभामा पालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सुस्ता गाउँपालिका का उपाध्यक्ष गिता चौधरीले सुखी सुस्ताबासी र समृद्व सुस्ताको आधार लिएर पालिका अगाडि बढेको बताउदै गाउँपालिका अध्यक्ष नमुना सडक कामलाई निरन्तरता,८ सय जना कृषकलाई तरकारीको बिउकिट वितरण,१ हजार २ सय किसानलाई च्याउको बीउ वितरण,६९ वटा कृषक समूह दर्ता भएको छ भने शिक्षा तर्फ सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर सुधार ल्याउन विद्यार्थीहरुको अनुपात हेरि गाउँपालिकाबाट नै करारमा शिक्षक भर्ना गरेको,शिक्षामा नयाँ जनशक्ति भित्र्याउनका लागि स्वेच्छिक अवकाश कार्यक्रम संचालनमा ल्याएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै छोरी सुनौलो भविष्य कार्यक्रम अन्तर्गत ९५ वटा निवेदन दर्ता भएको र ४४ जनाको बैंक खातामा रकम दाखिला भएको,२ सय २३ जना अपाङ्गता ब्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको र यस चालू आर्थिक बर्ष ०८१/०८२ मा ४ सय १३ जन्मदर्ता,१ सय ७ मृत्युदर्ता,१ सय २९ वटा विवाह दर्ता,१ वटा सम्बन्ध विच्छेद दर्ता र ३७ वटा बसाइँसराइ दर्ता गरि ६ सय ८७ व्यक्तिगत घटना दर्ता भएको पालिका उपाध्यक्ष चौधरीले बताइन् ।
त्यसैगरि चालु आर्थिक बर्षमा १३ वटा व्यवसाय दर्ता र १ सय ४ वटा फर्म नविकरण भएको छ भने १४ वटा निर्माण संग सम्बन्धित फर्मलाई घ वर्गको इजाजत पत्र पालिकाले प्रदान गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
पालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार पुर्वधार तर्फ २६ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरि सम्झौता भएका जसमध्ये ७ वटा योजनाहरु सम्पन्न भई अन्तिम भुक्तानी समेत भइसकेको,१२ वटा योजनाहरुको बोलपत्र मार्फत ठेक्का सूचना प्रकाशित भइ ६ वटा योजना सम्झौता भएको छ भने १ वटा ठेक्का भइ सम्झौता भएको योजना सम्पन्न भएको बताइएको छ ।
त्यसैगरी प्रगती प्रतिवेदनमा चालू आर्थिक बर्ष ०८१/०८२ मा चालु खर्च तर्फ कुल रु ९ करोड ५ लाख ७८ हजार ६ सय ६१ रुपैया खर्च प्रतिशत २८.१६ र पुजिगत खर्च तर्फ कुल रु १ करोड २५ लाख ५७ हजार १ सय ९१ रुपैया खर्च प्रतिशत ३.८६ रहेकोे उल्लेख छ ।
सुस्ता गाउँपालिका कार्यालयको १६औं गाउँ सभाले आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्दै ३ करोड ४३ लाख ६६ हजार १ सय १६ रुपैयाको योजनाहरु सभाले संशोधन गरेको सभाका सचिव एवं सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताएका छन् ।
गाउँसभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष टेक नारायण उपाध्यायले स्थानीय सरकार बहुमतले पारित गरेका विषयबस्तुलाई मात्र नभई आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्न कटिबद्ध रहेकाे र सुखी सुस्ता सुस्ताबासी र समृद्ध सुस्ता आफ्नो कार्यकालमा बनाउने बताए ।